काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले राेमाञ्चक जित निकालेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा विराटनगरले फार वेस्ट युनाइटेडलाई ३ रनले पराजित गरेको हो ।
फारवेष्टलाई अन्तिम ६ बलमा जितको लागि ६ रन चाहिँएको थियो । तर तीव्र गतिका बलर केओन जोशेफले मात्रै दुई रन खर्चिएर विराटनगरलाई जित दिलाएका थिए । हार सँगै फार वेस्ट अन्तिम खेल बाँकी रहँदै लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ ।
जितका लागि विराटनगरले दिएको १ सय ४८ रनको रनको लक्ष्य पछ्याएको फारवेष्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रनमात्र बनाउन सक्यो । फारवेष्टका लागि कप्तान हस्मतुल्लाह साहिदीले अर्धशतकीय ईनिङ खेले पनि टिमको हार टार्न सकेनन् । साहिदी ४६ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा आउट भएका थिए ।
उमैर अलीले २३ रन जोड्दा विनोद भण्डारी र नुर अहमेदले समान १०/१० रन बनाए । विराटनगरका लागि राज नाननले तीन विकेट लिए । यस्तै, सुर्य तामाङले २ विकेट, केओन जोसेफ र नन्दन यादवले समान एक/एक विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो । विराटनगरका लागि हुसेन तलतले २९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । तलातले २९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।
यसबाहेक, विवेक यादवले अविजित ३५, अर्जुन साउदले २२ र कप्तान रोहित कुमार पौडेलले २१ रन बनाए । फारवेष्टका लागि उमर अलीले २ विकेट लिए । करण केसी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए । जितसँगै नौ खेलबाट आठ अंक जोडेको विराटनगर तालिकाको चौथो स्थानमा छ ।
पराजित फारवेष्टले आफ्नो अन्तिम खेल शनिबार पोखरासँग खेल्नेछ । त्यस्तै विराटनगरले शनिबार हुने पहिलो खेलमा काठमाडौं नाइट्ससँग खेल्नेछ । शनिबार हुने दुवै खेलको नतिजापछि प्लेअफ पुग्ने बाँकी २ टिमको टुङ्गो लाग्नेछ । विराटनगरबाट उत्कृष्ट प्रदर्शन गरेका राज नानन ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।