काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा जनकपुरले लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गर्दै सातौं जित हात पारेको हो ।
जनकपुरका खेलाडी निर्धारित समयमा मैदानमा नआइपुगेपछि र चिसो मैदानका कारण खेल १७ ओभरमा झारिएको थियो । जनकपुरले जितको लागि दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा सात विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका अनिलकुमार शाहले २१ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रन बनाएका थिए । ओपनर लाहिरु मिलान्थाले १८ बलमा ४ चौका र २ छक्कासहित ३२ रन जोडे । सुनील धमलाले २७ र गुल्सन झाले १० रन जोडे । जनकपुरका ट्रिभोन ग्रिफिथले तीन विकेट लिए । समिउल्लाह सिन्वारीले दुई र ललित राजवंशीले एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । जनकपुरका लागि विष्फोटक ब्याटिङ गरेका कप्तान ट्रभोन ग्रिफिथले ११ बलमा तीन चौका र पाँच छक्कासहित सर्वाधिक ४७ रनमा अविजित रहे ।
ओपनर ब्याटर सराफुदिन असरफले १८ बलमा ५ चौका र १ छक्का सहित ३४ रन बनाएका थिए । ओपनिङमा आएका खडक बोहोराले ३० बलमा २२ रन, समिउल्लाह सिन्वारीले २० र दिलीप नाथले १० रनको योगदान गरे । लुम्बिनीका लागि कुशल भुर्तेल र सागर ढकालले समान २/२ लिँदा प्याट ब्रोन र इशान पाण्डेले समान १/१ विकेट लिएका थिए ।
हारका बाबजुद लुम्बिनी १० खेलबाट ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । जितसँगै जनकपुर समान १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । जनकपुरबाट अलराउण्ड उत्कृष्ट प्रदर्शन गरेका कप्तान ट्रभोन ग्रिफिथ ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।