काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा जनकपुर रोयल्स प्लेअफमा पुगेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि ६६ बल अगाबै ६ विकेटको सानदार जित निकाल्दै प्लेअफमा स्थान पक्का गरेको हो ।
पोखराबाट जितको लागि ६९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले नौ ओभरमा ४ विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरका ओपनर शराफुद्दिन अशरफले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।
कप्तान ट्राभोन ग्रिफिथ १७ रनमा आउट भए । यस्तै, पवन सराफ ४ रनमा र राजेश पुलामी एक रनमा अविजित रहेका थिए । पोखराका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । असिथा फर्नान्डोजले एक विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिलो व्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्स १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटिएको थियो । पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाएका थिए । आसिफ शेख र कुशल मल्लले समान १६/१६ रन बनाए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा पोखराका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्न जनकपुरका सोमपाल कामीले ३ ओभरमा ८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । ललित राजवंशी र सरफुदिन असरफले समान २/२ विकेट लिए । त्यस्तै, पवन शर्राफ, ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान १/१ विकेट लिएका थिए ।
जितसँगै जनकपुर रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । पराजित पोखरा एभेन्जर्स ९ खेलमा ३ मा जित र ६ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा रहेको छ । जनकपुरबाट उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामी ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।