काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगरले फार वेस्ट युनाइटेडमाथि ६ विकेटको जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।
फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरका कप्तान रोहितकुमार पौडेलले ४२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । रोहितको यो जारी प्रतियोगिता दोस्रो अर्धशतक हो ।
ओपनर प्रदीप ऐरी २६ बलमा ४ चौका र २ छक्कासहित ४० रनमा आउट भए । त्यस्तै, हुसेन तलतले २१, पृथु बाँस्कोटाले अविजित १७ र गौरांशु शर्माले ११ रन जोडे । फार वेस्ट युनाइटेडका लागि हसमतुल्लाह शाहिदी, करण केसी, नूर अहमद र प्रकाश जैसीले समान एक/एक विकेट लिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिंग गरेको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो । फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ४५ रन जोडेका थिए ।
कप्तान हशमतुल्लाह शाहिदीले २७, करण केसीले अविजित २१, उमेर अलीले १६ र मिलिन्दा सिरिवर्धनले १४ रन बनाए । फार वेस्टका बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । विराटनगर लागि शाहब आलमले तीन, केओन जोसेफले दुई, विवेक यादव, रोहितकुमार पौडेल र राज नाननले समान एक/एक विकेट लिए ।
जितसँगै विराटनगर ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा रहेको छ । विराटनगरले प्लेअफमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । फार वेस्ट युनाइटेड ७ खेलमा १ मा जित र ६ मा हारसहित २ अंकका साथ पुछारमा रहेको छ । विराटनगरबाट उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोहितकुमार पौडेल ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।