काठमाडौं । पोखरामा जारी २२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलमा संकटा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता एपीएफ क्लबलाई ४-१ को फराकिलो गोलअन्तरले हराउँदै संकटा फाइनलमा प्रवेश गरेको हो ।
संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले समान दुई/दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काएका थिए । यसअघि, २०७७ सालमा च्याम्पियन समेत बनेको संकटाको यो आठौं सहभागिता हो । संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।
खेलको चौथो मिनेटमा नै संकटाका स्टेफन बिनोङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४२ औँ मिनेटमा स्टेफनको पासमा मेसुके ओलोमोउले गोल गर्दै पहिलो हाफमै संकटाको अग्रता दोब्बर पारेका थिए ।
त्यसपछि, खेलको ६१ औं मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता ३-० को बनाएका थिए । एपिएफका लागि खेलको ७४ औं मिनेटमा हरि कार्कीले गोल गर्दै ३-१ को स्थितिमा ल्याए । बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
त्यसपछि, खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-१ को फराकिलो गोलअन्तरले जित दिलाएका थिए । अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटानिज युथ स्पोर्ट्स क्लब अमेरिकाबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।