काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार क्वालिफायर्समा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाइट्समाथि १ सय २ रनको सानदार जित निकाल्दै क्वालिफायरमा स्थान पक्का गरेको हो ।
काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेललाई १७ ओभरमा झारिएको थियो । जितको लागि लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ८१ रनमा अलआउट भयो । काठमाडौंले लज्जास्पद हार ब्यहोरेको यो नजिता जारी प्रतियोगिताको सबैभन्दा फराकिलो अन्तरको हो । काठमाडौंका लागि वसिर अहमदले ३० बलमा १ चौका सहित सर्वाधिक २२ रन बनाएका थिए ।
कमल सिंह ऐरी १६ रन तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि ह्यारी टेक्टर, ईशान पाण्डे र कुशल भुर्तेलले समान २/२ विकेट लिए । किशोर महतो, विपुल शर्मा र हर्मित सिंहले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । लुम्बिनीका ओपनर हर्मित सिंहले ३६ बलमा २ चौका र ८ छक्का सहित सर्वाधिक ७० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । अर्का ओपनर लहिरु मिलन्थाले २६ रन बनाएका थिए ।
गुलसन झा २१ रन, ह्यारी टेक्टर १७ रन र कुशल भुर्तेल १५ रनमा आउट भएका थिए । अनिल कुमार शाह १६ रनमा र विपुल शर्मा ५ रनमा अविजित रहेका थिए । काठमाडौंका लागि अविनाश बोहराले सर्वाधिक तीन, बसिर अहमदले दुई र अनिल खरेलले एक विकेट लिए ।
यस जितसँगै लुम्बिनी अल स्टार्स ९ खेलमा ८ जित १ हार सहित १६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । काठमाडौं नाइट्स ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । लुम्बिनीबाट उत्कृष्ट प्रदर्शन गरेका हरमीत सिंह ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।