काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारले सातौ जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनीले जनकपुर रोयल्समाथि ५ रनको रोमान्चक जित हात पारेको हो ।
जनकपुरलाई अन्तिम बलमा जितको लागि ६ रन चाहिँदा तीव्र गतिका बलर किशोर महतोले योर्कर फ्याँल्दै चाडविक वाल्टनलाई कुनै रन बनाउन दिएनन् । लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन मात्र जोड्न सक्यो ।
जनकपुरका चाडविक वाल्टनले ३६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनको अविजित अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर त्रिवोन ग्रिफित र सराफुदिन असरफका साथै सन्दीप जोरा समान २६/२६ रन बनाउँदै आउट भए । समिउल्लाह सिन्वारीले १८ रनमा र दीलिप नाथ ७ रनमा आउट भए । लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले समान दुई/दुई विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो । लुम्बिनीका लागि ओपनर हरमीत सिंहले ४७ बलमा ५ चौका र ६ छककासहित सर्वाधिक ७३ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
यस्तै, लहिरु मिलन्थाले ३३ रन, ह्यारी टेक्टरले अविजित १८ रन, कुशल भुर्तेलले १७ रन र कप्तान दीपेन्द्र सिंह ऐरीले १४ रन जोडेका थिए । अनिल शाह १० रनमा अविजित रहे । जनकपुरका लागि सरफुद्दिन अस्रफले तीन विकेट लिए । जितेन्द्र मुखिया, समिउल्लाह सिन्वारी र ललित राजवंशीले समान एक/एक विकेट लिएका थिए ।
जितसँगै लुम्बिनी ८ खेलमा ७ मा जित र १ हारसहित १४ अंक जोडेर अंक तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै, जनकपुर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लुम्बिनीबाट उत्कृष्ट प्रदर्शन गरेका हरमीत सिंह ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।