काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले विराटनगर सुपर किङ्समाथि ३४ रनको सहज जित हात पारेको हो ।
टस हुनुअघि दुवै टिमका खेलाडीहरूले आफूहरूको पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि काठमाडौं र विराटनगरको खेल २ घण्टा ढिला सुरु भएको थियो । तर, पछि क्यानका पदाधिकारी, अन्य प्रतिनिधि र खेलाडीबीच भोलिसम्म पारिश्रमिक दिने सहमति बनेपछि खेल सुरु भएको थियो । खेललाई ९ ओभरमा झारिएको थियो ।
काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले ८.५ ओभरमा सबै विकेट गुमाएर ५८ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि गौरांशु शर्माले १३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २२ रन बनाएका थिए ।
यस्तै, विवेक यादवले १२ र नन्दन यादवले अविजित ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर अर्जुन साउद १ रन, हुसेन तालत ८ रन, कप्तान रोहित पौडेल २ रन र राज नन्नन शून्यमा आउट भए ।
काठमाडौंका लागि कमल सिंह ऐरीले १.५ ओभरमा १३ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । सुनम गौतम र अनिल खरेलले समान दुई/दुई विकेट लिए । बसिर अहमद र अविनाश बोहराले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौंका सन्दीप रजाली २२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३२ रनमा अविजित रहेका थिए । रजालीले नेपाल टि-२० लिगको पहिलो खेल खेलेका हुन् ।
कमल सिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्लेकले १३ रन बनाए । विराटनगरका लागि नन्दन यादवले २ ओभरमा एक मेडनसहित ८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । हुसेन तलत र केओन जोसेफले समान एक/एक विकेट लिएका थिए ।
जितसँगै सात खेलबाट आठ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट चार अंक जोडेको विराटनगर तालिकाको पाँचौ स्थानमा छ । काठमाडौंबाट उत्कृष्ट प्रदर्शन गरेका सन्दीप रजाली ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।