काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८२ रनले हराएको हो । फार वेस्ट युनाइटेडको पाँचौं हारसँगै प्लेअफ यात्रा निकै कठिन बनेको छ ।
जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फार वेस्टले १५.१ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र बनाउन सफल भयो । फार वेस्टका लागि कप्तान हस्मतुल्लाह साहिदीले सर्वाधिक ३२ रन जोडे । राशिद खानले अविजित १७ र भिम सार्कीले १६ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि समिउल्लाह सिन्वारीले तीन ओभरमा १६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी र पवन सर्राफले समान दुई/दुई विकेट लिएका थिए । यस्तै, ललित राजवंशी, सरफुद्दिन अस्रफ र जितेन्द्र मुखियाले समान एक/एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको योगफल खडा गरेको थियो । जनकपुरका लागि सन्दिप जोराले ३२ बलमा १ चौका र ५ छक्कासहित सर्वाधिक ५५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
यस्तै, कप्तान ट्रिभोन ग्रिफिथले ३२ रन, चान्डविक वाल्टनले २४ रन, सरफुदिन असरफले २० रन र राजेश पुलामीले १६ रन जोडेका थिए । फार वेस्टका लागि प्रकाश जैसीले तीन विकेट लिएका थिए । भुवन कार्कीले दुई विकेट लिँदा नुर अहमेदले एक विकेट हात पारेका थिए ।
जितसँगै ७ खेलबाट ५ मा जित र २ मा हारसहित १० अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा छ । पराजित फार वेस्ट युनाइटेड भने ६ खेलबाट ५ मा हार र १ मा जितसहित २ अंक जोडेर तालिकाको पुछारमा रहेको छ । जनकपुरबाट उत्कृष्ट प्रदर्शन गरेका सन्दिप जोरा ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।