काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार छैटौं जितका साथ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो ।
जितका लागि लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर ११० रनमात्र जोड्न सक्यो । विराटनगरका ओपनर अर्जुन साउँदले सर्वाधिक ४१ रन जोडेका थिए । विवेक यादवले १९, गौरान्शु शर्माले १२ र पृथु बास्कोटाले ११ रन बनाए ।
बिराटनगरका अन्य ब्याट्सम्यानले दोहारो रनमा अंक जोड्न सकेनन् । लुम्बिनीका लागि श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान २/२ विकेट लिए । यस्तै, किशोर महतो, कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ६ चौकासहित सर्वाधिक ५० रनको अविजित अर्धशतकीय पारी खेले ।
यस्तै, कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल साहले समान १३/१३ रन थपेका थिए । विराटनगरका लागि विवेक यादव, सूर्य तामाङ र नन्दन यादवले समान दुई/दुई विकेट लिएका थिए । यसबाहेक, केओन जोसेफ र राज नाननले समान एक/एक विकेट लिएका थिए ।
जितसँगै सात खेलबाट ६ मा जित र १ मा हारसहित १२ अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ । यस्तै, पराजित विराटनगर ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा रहेको छ । लुम्बिनीबाट अलराण्ड उत्कृष्ट प्रदर्शन गरेका कपतान दीपेन्द्र सिंह ऐरी ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।