काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको हो । काठमाडौंले तेस्रो जितसँगै प्लेअफ सम्भावना बलियो बनाएको छ ।
जितका लागि काठमाडौंले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । जनकपुरका लागि ओपनर अरफुदिन असरफले ३७, सोमपाल कामीले २१ तथा खडक बोहोराले १० रन बनाए ।
लज्जास्पद ब्याटिङ गर्नेक्रममा जनकपुरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सन्दीप जोरा २, पवन सरार्फ ४, मोहम्मद आदिलले ९ रन बनाए । कप्तान ट्रेभोन ग्रिफिथ र चाडविक वाल्टनले खाता खोल्न सकेनन् ।
काठमाडौंका लागि बलिङमा अभिनाश बोहराले ३.१ ओभरमा १३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजमतुल्लाह उमरजाईले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिएका थिए । कमल ऐरी, अनिल खरेल र बसिर अहमदले समान १/१ विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । काठमाडौंका लागि सुनाम गौतमले ४७ बलमा ४ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६२ रनको अर्धशतकिय ईनिङ खेले ।
रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय पारी खेले । लोकेश बम ७ रनमा अविजित रहे । काठमाडौंको सुरुवात राम्रो हुन सकेन । एलेक्स ब्लेक १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा क्याच आउट भए ।
अजमतुल्लाह उमजाईले १० रन बनाउँदा जितेन्द्र मुखियाले विरनदीप सिंहलाई ९ रनमा बोल्ड गरे । जितेन्द्रले नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्यमा चाडविक वाल्टनबाट क्याच गराएका थिए । ज्ञानेन्द्र जारी प्रतियोगितामा पाँच मध्य तीन खेलमा डक आउट भएका हुन् ।
जनकपुर रोयल्सका लागि बलिङमा जितेन्द्र मुखियाले ४ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । शराफुद्दीन अशरफ र कप्तान ट्रेभोन ग्रिफिथले समान १/१ विकेट लिएका थिए । जितसँगै काठमाडौं नाइट्स ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । पराजित जनकपुर रोयल्स ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । काठमाडौंबाट उत्कृष्ट प्रदर्शन गरेका सुनाम गौतम ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।