काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा जनकपुरले विराटनगर सुपर किंग्समाथि ४९ रनको सहज जित हात पारेको हो ।
जितका लागि जनकपुरले दिएको १९० रनको लक्ष्य पछ्याएको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रनमात्र बनाउन सक्यो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदिप सिंह ऐरीले अविजित ३६ रन बनाएका थिए ।
गौराशुं शर्मा ३३ रनमा आउट भए । कप्तान आन्द्र म्याकार्थीले १४ रन बनाउँदा बिराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । जनकपुरका लागि शमिउल्लाह शिनवारीले ३ तथा ललित नारायण राजवंशीले २ विकेट लिए । आशा प्रियंजन र मोहम्मद आदिल आलमले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि शमिउल्लाह शिनवारीले अविजित ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७८ रन बनाएका थिए । खडक बोहोरा १२ रनमा अविजित रहे ।
यस्तै, चाल्डिक वाल्टनले २९ रन, सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ रन बनाए । विराटनगरको लागि हुसेन तलत र सूर्य तामाङले समान २–२ विकेट लिए । नन्दन यादवले १ विकेट लिए ।
यस जितसँगै पाँच खेल खेलेर ४ जित हात पारेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित बिराटनगर भने समान खेलमा ४ अंकसहित चौंथो स्थानमा रहेको छ । जनकपुरबाट अलराउण्ड उत्कृष्ट प्रदर्शन गरेका शमिउल्लाह शिनवारी ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।