काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा पोखराले लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गरेको हो ।
योसँगै नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार पाँच जितको यात्रा समाप्त भएको छ । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर विकेट गुमाएर पुरा गर्यो ।
पोखरालाई दोस्रो जित दिलाउने क्रममा दाजु–भाइ आरिफ र आसिफ शेखले ९५ रनको साझेदारी गरे । आसिफ शेखले ६२ बलमा ९ चौकासहित अविजित ७७ रन बनाएका थिए । आरिफ शेख २६ रनमा अविजित रहँदा सुमित महर्जन १३ रनमा आउट भएका थिए । लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि हरमित सिंहले सर्वाधिक ३८ तथा श्याड्ली भानले १६ रन बनाएका थिए । सुनिल धमला १५ रनमा आउट हँदा योगेन्द्र सिंह कार्कीले १३ रन बनाएका थिए ।
यस्तै, ह्यारी टेक्टर र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १०/१० रन बनाएका थिए । पोखराका लागि विपिन खत्री र जाहिर खानले समान ३/३ विकेट लिए । त्यसबाहेक, आरिफ शेख, तुल बहादुर थापा र सिद्धान्त लोहनीले समान १/१ विकेट लिएका थिए ।
जितसँगै पोखरा एभेन्जर्स ४ अंक सहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पोखराले शीर्ष चारमा रहँदै प्लेअफ खेल्न बाँकी तीन खेल जित्नुपर्छ । पराजित लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।