काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो ।
फार वेस्टले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पोखराले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई पहिलो जित दिलाउने क्रममा आसिफ शेखले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाएका थिए ।
कुशल मल्लले २२ बलमा ५ छक्कासहित ४० रनमा आउट भए । ओपनर सुमित महर्जन २२ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रनमा आउट भएका थिए । यस्तै, अभिमन्यु मिथुन ८ र विपिन खत्री ६ रनमा अविजित रहे । बलिङमा फार वेस्टका करण केसी, उमेर अलि र प्रकाह जैशीले समान २/२ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ८७ रनको योगफल खडा गरेको थियो । जसमा उमर अलीले २६ बलमा ५ छक्कासहित सर्वाधिक ४२ रन बनाएका थिए ।
ओपनर देव खनाल ३१ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । राशिद खानले १५ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान गरेका थिए । यस्तै, भीम सार्की १७, विनोद भण्डारी ११ र हरिशंकर शाह ५ रनमा आउट भए । करण केसी ७ बलमा २ चौकासहित १२ रनमा अविजित रहेका थिए ।
बलिङमा पोखराका जाहिर खानले तीन विकेट लिए । तुल थापा र आमिर हाम्जाले समान दुई/दुई तथा कुशल मल्ल र आरिफ शेखले समान एक/एक विकेट लिएका थिए । पोखरा ६ खेलमा ५ मा हार र १ मा जितसहित २ अंकका साथ तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पाँच खेल खेलेर ४ मा हार र १ जित हात पारेको फार वेस्ट २ अंक सहित अंक तालिकाको पुछारमा झरेको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।