काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारले लगातार पाँचौ जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो ।
लुम्बिनीले प्रस्तुत गरेको १५१ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रनमात्र बनाउन सक्यो । जसमा, अजमतुल्लाह उमरजाइले सवार्धिक ३८ रन बनाएका थिए ।
काठमाडौंमा ओपनर विरन्दीप सिंह र कप्तान ज्ञानेन्द्र मल्ल ‘डक’ आउट हुँदा अर्का ओपनर लोकेश बम भने ‘डायमन्ड डक’ आउट भएका थिए । कमलसिंह ऐरीले अविजित १९, सुनम गौतमले १८, एलेक्स ब्लाकले ११ र बसिर अहमेदले १० रन थपेका थिए ।
लुम्बिनीका लागि हर्मित सिंहले तीन विकेट लिए । यसबाहेक, किशोर महत्तो, साड्ले भान स्कल्कोवक, तिलक भन्डारी र ह्यारी टेक्टोरले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १५० रनको योगफल खडा गरेको थियो । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले सवार्धिक ४० रन बनाए । दीपेन्द्रले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
यस्तै, ओपनर लहिरु मिलन्थाले २५, साड्ले भान स्कल्कोवकले अविजित २१, कुशल भुर्तेलले १९, अनिल साहले १३ र हर्मित सिंहसले १२ रन बनाएका थिए । काठमाडौंका लागि अज्मतुल्लाह ओमरजाईले दुई विकेट लिँदा अभिनाश बोहरा, अनिल खरेल, बसिर अहमेद, सुनम गौतम र एलेक्स ब्लाकले समान एक/एक विकेट लिए ।
जितसँगै पाँच खेलबाट १० अंक जोडेको लुम्बिनी अल स्टार तालिकाको शीर्ष स्थानमा छ । चार खेलबाट ४ अंक जोडेको काठमाडौं नाइट्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।