काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाईटेडलाई ८ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो ।
फार वेस्टले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा सन्दीप जोराले ५४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले ।
यस्तै, चान्डविक वाल्टनले पनि अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले । वाल्टनले ४० बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । पवन सर्राफ १२ रनमा र कप्तान ट्रिभोन ग्रिफितले ६ रनमा आउट भएका थिए । फार वेस्टका लागि करण केसीले २ विकेट लिए ।
यसअघि, टस हारेपछि ब्याटिङमा आएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो । फार वेस्टका लागि करन केसीले १७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाएका थिए ।
भिम सार्कीले ३० बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनमा आउट भएका थिए । कप्तान हसमतुल्लाह शाहिदी १९ रनमा रन आउट भए भने हरिशंकर शाह १३ रनमा आउट भए । यस्तै, विनोद भण्डारीले १२ तथा हसिम अंसारीले ११ रन बनाएका थिए ।
जनकपुरका ललित राजवंशीले दुई विकेट लिँदा सोमपाल कामी र जितेन्द्र मुखियाले समान एक/एक विकेट लिए । जितसँगै चार खेलबाट ६ अंक जोडेको जनकपुर रोयल्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको फार वेस्ट युनाईटेड तालिकाको पाँचौ स्थानमा रहेको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।