काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो । पोखराले भने लगातार पाँचौ हार व्यहोरेको छ ।
पोखराले प्रस्तुत गरेको १३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । विराटनगरको जितमा अविजित रहेका रोहितकुमार पौडेलले सर्वाधिक ७१ रनको अर्धशतकीय ईनिङ खेले । ५७ बल खेलेका रोहितले ६ चौका र तीन छक्का प्रहार गरेका थिए ।
गौरान्सु शर्माले ३३ रन तथा हुसेन तलतले अविजित २८ रन बनाए । विराटनगरका ओपनर अर्जुन साउद भने ‘गोल्डने डक’ भएका थिए । पोखराका अमिर हम्जा र जहिर खानले समान एक/एक विकेट लिए ।
यसअघि, टस हारेपछि ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले २५ बलमा अविजित ३७ रन बनाएका थिए ।
सुमित महर्जनले ३६, कप्तान उपुल थरंगाले २५, प्रतिश जिसीले अविजित १३ रन जोडे । आसिफ शेख ११ रनमा आउट भएका थिए । विराटनगरका कप्तान एन्ड्रे म्याककार्थीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका म्याककार्थीले २२ रन मात्र खर्चिएका थिए । नन्दन यादव, राज नानन र साहब आलमले समान एक/एक विकेट लिए ।
लिगमा चार खेल खेल्दा दोस्रो जित निकालेको विराटनगर ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा पनि जितविहीन पोखरा अंक विहीन हुँदै तालिकाको पुछारमा रहेको छ । अपराजित लुम्बिनी ४ खेलमा ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
काठमाडौं नाइट्सले ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । जनकपुर रोयल्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण चौथो स्थानमा छ । फार वेस्ट युनाइटेड ३ खेलमा १ मा जित र २ खेलमा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।