काठमाडौं । स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा नेपालको गण्डकी-११ लाई पराजित गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योले गण्डकी–११ लाई ३–० गोल अन्तरले हराएको हो ।
कासेरेन्योको जितमा कार्मेलो मोरा, मिचेल कारिलेरो र बेर्मुले एक–एक गोल गरे । खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । डिफेन्डर जीवन गुरुङको कमजोरीको फाइदा उठाउँदै कार्मेलोले वान भर्सेस वानमा गोल गरे ।
खेलको ३० औं मिनेटमा मिचेलले गोल गर्दै कासेरेन्योलाई २–० को अग्रता दिलाए । भेटेरान खेलाडी मिचेल स्पेनका पूर्व राष्ट्रिय खेलाडी हुन् । त्यसपछि खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३–० को जित दिलाए ।
अनिल गुरुङको कप्तानीमा मैदान उत्रिएको गण्डकी ११ का खेलाडीले छरितो खेले पनि स्पेनिस खेलाडीको अग्लो कदका कारण एयर बलमा जम्न सकेनन् । खेलमा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले पनि खेले । उनी ४ नम्बर जर्सीका साथ दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्न स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो । आगामी जनवरी चारमा स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गतको खेलमा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको स्पेनिस टोलीले भोली बिहीबार काठमाडौंको दशरथ रंगशालामा काठमाडौं ११ सँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।