काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । पोखराको भने यो लगातार चौथो हार हो ।
पोखराले दिएको १४० रनको लक्ष्य विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । विराटनगरका लागि अलराउण्ड प्रदर्शन गरेका हुसेन तलतले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । विवेक यादव ८ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे ।
ओपनर अर्जुन साउद २२ बलमा १ चौका र २ छक्कासहित २५ रनमा आउट भए । कप्तान आन्दे्र म्याकार्थीले २१ तथा रोहित पौडेल ५ रनमा र पृथु बाँस्कोटा १५ रनमा आउट भए । पोखराका लागि कुशल मल्ल र शरद भेषवाकरले समान २/२ विकेट लिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन बनाएका थिए ।
सिद्धान्त लोहनीले १९ बलमा ३ छक्काको सहयोगमा २६ रनमा बोल्ड आउट भए । कप्तान उपुल थरंगा १९ रनमा आउट हुँदा सुमित महर्जनले १२ र आसिफ शेखले १० रन बनाए । प्रतिश जिशीले अविजित ११ तथा शरद भेषवाकरले अविजित ९ रन बनाएका थिए ।
विराटनगरका लागि हुसेन तलत र राज नाननले समान २/२ विकेट लिए । नन्दन यादव, साहब आलम र आन्दे्र म्याकार्थीले समान १/१ विकेट हात पारेका थिए । प्रतियोगितामा पहिलो जित निकालेको विराटनगर तीन खेलबाट दुई अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
यस्तै, चार खेल खेल्दा पनि अंकविहीन पोखरा भने तालिकाको पुछारमा छ । लगातार तीन हारपछि पोखराले कप्तान परिवर्तन गर्दै शरद भेषावकरको स्थानमा उपुल थरंगालाई कप्तान नियुक्त गरेपनि जित दिलाउन सकेनन् ।
डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।