काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारले चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा ९ रनले पराजित गर्दै लुम्बिनीले लगातार चौथो जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ गरेको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो । १३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले पनि निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३७ रन नै बनाएपछि खेल ‘टाई’ भएको हो । त्यसपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो ।
सुपर ओभरमा पहिले ब्याटिङका लागि आएको लुम्बिनीले १९ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए । लुम्बिनीका लहिरु मिलन्थाले १५ र शाड्ली भान शाल्बिकले तीन रन बनाए । लुम्बिनीले एक रन भने अतिरिक्त पाएको थियो ।
सुपर ओभरमा २० रनको लक्ष्यसहित ब्याटिङमा आएको फार वेस्टले १० रनमात्र बनाउँन सक्यो । लुम्बिनीले बलिङमा किशोर महतोको आएका थिए । फार वेस्टबाट ब्याटिङका लागि आएका हस्मतुल्लाह साहिदीले आठ रन बनाउँदा विनोद भण्डारीले दुई रन बनाएका थिए । प्रतियोगिताको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो ।
त्यसअघि, २० ओभरको खेलमा लुम्बिनीका गुल्सन झाले अविजित ३६ रन जोडेका थिए । यस्तै, ओपनर लहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन जोडेका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । फार वेस्टका लागि करण केसी र शेर मल्लले समान २/२ तथा उमर अलि, रशिद खान, कप्तान हजमतुल्लाह शाहिदी र भुवन कार्कीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । ओपनर देव खनालले ४२ बलमा पाँच चौकासहित सर्वाधिक ४८ रन बनाएका थिए । कप्तान हस्मतुल्लाह साहिदीले ३२, भिम सार्कीले १५, करण केसीले १२ रन जोड्दा हसिम अन्सारी र विनोद भण्डारीले समान ११/११ रन जोडेका थिए ।
लुम्बिनीका लागि शाड्ली भान शाल्बिकले दुई विकेट लिए । हर्मित सिंह, किशोर महत्तो र सागर ढकालले समान एक/एक विकेट हात पारेका थिए । जितसँगै चार खेलबाट आठ अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ । यस्तै तीन खेलबाट दुई अंक जोडेको फार वेस्ट तालिकाको चौथो स्थानमा रहेको छ ।
डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।