काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ५३ रनको सहज जित हात पारेको हो ।
काठमाडौंले प्रस्तुत गरेको २०९ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । जनकपुरका सामियुल्लाह सिन्वारीले २९ रन बनाए । सन्दीप जोराले २६, पवन सर्राफले २४, सरफुद्दिन असरफले १९ र मोहम्मद आदील आलमले १६ रन जोडे ।
काठमाडौंका लागि अज्मतुल्लाह ओमरजाईले तीन विकेट लिए । बसिर अहमेदले दुई विकेट लिँदा कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल र सुनम गौतमले एक/एक विकेट विकेट लिए ।
त्यसअघि, टस जितेर पहिला ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लाकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको विशाल योगफल खडा गरेको थियो । काठमाडौंका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका एलेक्स ब्लाकले सर्वाधिक ८३ रनको अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका ब्लाकले ४३ बलमा चार चौका र सात छक्का प्रहार गरे ।
त्यसअघि, ओपनर विरन्दीप सिंह र लोकेश बमले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गर्दै काठमाडौंलाई सुखद सुरुआत दिलाएका थिए । विरन्दीपले ३४ बलमा सात चौका र एक छक्कासहित ४९ रन जोड्दा लोकेश बम ८ बलमा २ चौका र १ छक्कासहित १५ रनमा आउट भएका थिए ।
अज्मतुल्लाह ओमरजाईले १५ बलमा एक चौका र चार छक्कासहित ४३ रनको योगदान गरेका थिए । जनकपुरका लागि पवन सर्राफले दुई विकेट लिँदा सोमपाल कामी, जितेन्द्र मुखिया, सरफुद्दिन असरफ र आदिल आलमले समान एक/एक विकेट लिएका थिए ।
जितसँगै तीन खेलबाट चार अंक जोडेको काठमाडौं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक नै जोडे पनि जनकपुर नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ । डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।