काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । पोखराको यो लगातार तेस्रो हार हो ।
पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर अन्तिम बलमा छक्का हान्दै पूरा गर्यो । लुम्बिनीलाई जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा स्ट्राइकमा रहेका साड्ले भान स्कल्कवेकले छक्का प्रहार गरेका थिए ।
आक्रामक रूपमा प्रस्तुत भएका स्कल्कवेकले ११ बलमा चार छक्कासहित अविजित ३१ रन जोडे । लुम्बिनीका कुशल भुर्तेलले २८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक सर्वाधिक ३८ रन बनाए । ओपनर उन्मुक्त चन्दले २२ रन, अनिल साहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए ।
लुम्बिनीका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पोखराका लागि कुशल मल्ल र विपीन कार्कीले समान दुई/दुई विकेट लिए । प्रतिश जिसी, अभिमन्यु मिथुन र जहिर खानले समान एक/एक विकेट लिए ।
यसअघि, टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । पोखराबाट आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ६१ रनको अर्धशतकिय ईनिङ खेलेका थिए । उनले ३१ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे ।
उपुल थरंगाले ५१ बलमा २ चौका र १ छक्कासहित ४२ रन बनाउनुबाहेक पोखराका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका साड्ले भान स्कल्कवेकले तीन विकेट लिए । गुल्सन झा र किशोर महत्तोले समान दुई विकेट लिँदा हर्मित सिंह र सागर ढकालले समान एक/एक विकेट लिए ।
लिगको तीन खेलमा नै जित निकालेको लुम्बिनी ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । तीन खेलमा खाता खोल्न नसकेको पोखरा एभेन्जर्स पुछारमा छ । डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।