काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किंग्समाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ ।
विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो । जनकपुर रोयल्सको जितमा चाडविक वाल्टनले सर्वाधिक ६९ रनको अर्धशतकीय ईनिङ खेले । वाल्टनले ५५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।
कप्तान ट्रिवोन ग्रिफिथले २५, सरफुद्दिन अर्सफले २३ र मोहम्मद आदिल आलम ६ बलमा १ छक्कासहित १० रनमा अविजित रहे । जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । विराटनगरका हुसेन तालत, नन्दन यादव र रिजन ढकालले समान १/१ विकेट लिए ।
यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो । विराटनगरका सिकन्दर राजाले सर्वाधिक ३८ रन बनाए । उनले १८ बलमा दुई चौका र चार छक्का प्रहार गरे । रोहित पौडेलले ३२, हुसैन तलातले २८, अर्जुन साउदले १८ र विवेक यादवले १० रन जोडे ।
जनकपुरका लागि पाँच विकेट लिएका ललितले चार ओभर बलिङ गर्दा एक मेडन राख्दै आठ रनमात्र खर्चिए । यसबाहेक, आदील आलम र केस्रिक विलियम्सले समान दुई/दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।
लगातार दोस्रो जित निकालेको जनकपुर रोयल्स चार अंकसँगै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलमा पराजित अंक विहीन विराटनगर सुपर किंग्स तालिकाको पुछारमा रहेको छ ।
डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । युसैगरी लिगको प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ ले ४० हजार र इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।