काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा फार वेस्ट युनाईटेडले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा फार वेस्टले काठमाडौं नाईट्सलाई ४ विकेटले पराजित गरेको हो ।
काठमाडौंले दिएको ९९ रनको लक्ष्य फार वेष्टले १९.१ ओभर खेल्दै १०२ रन बनाएर पूरा गरेको हो । फार वेष्टका लागि कप्तान हशमतुल्लाह शहिदीले ४९ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । करण केसी ७ बलमा १ चौकासहित ८ रनमा अविजित रहे ।
ओपनर देव खनालले १७ रन बनाउँदा भिम सार्किले ११ रन बनाए, हरिशंकर शाह शून्यमा आउट भए । फार वेष्टका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । बलिङमा काठमाडौंका अनिल खरेलले २ तथा अज्मतुल्लाह ओमारजाई, राएन बर्ल, वसिर अहमद र अविनाश बोहराले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो । काठमाडौंका लागि इंग्ल्यान्डका एलेक्स ब्लेकले ३७ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा अविजित ४५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन जोडे ।
काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८५ रनको उत्कृष्ट इनिङ खेलेका आजमतुल्लाह ओमरजाई स्पिनर भुवन कार्कीको बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा राशिद खानबाट तीन रनमा क्याच भएपछि काठमाडौं १३ ओभरमा ६५–६ को दयनीय अवस्थामा पुगेको थियो ।
बलिङमा फार वेष्टका उमेर अलीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । हशमतुल्लाह शहिदी र भुवन कार्कीले समान २/२ विकेट लिए । शेर मल्लले १ विकेट लिए । लिगमा पहिलो जित निकालेको फार वेस्ट युनाईटेड दुई अंकसहित चौथो स्थानमा उक्लिएको छ । यस्तै, पहिलो हार बेहोरेको काठमाडौं नाईट्स दुई खेलमा दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । युसैगरी लिगको प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ ले ४० हजार र इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।