काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले सुखद सुरुआत गरेको हो ।
शरद भेषावकर कप्तान रहेको पोखरा एभेन्जर्सको भने यो लगातार दोस्रो हार हो । शनिबार पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरालाई २६ रनले पराजित गरेको थियो । पोखराले मंगलबार लुम्बिनी अल स्टार्ससँग खेल्नेछ । जनकपुरले दोस्रो खेल बुधवार विराटनगर सुपर किङ्ससँग खेल्नेछ ।
पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर १ सय ३९ रन जोड्दै पूरा गर्यो । जनकपुरका लागि सन्दीप जोराले ३० बलमा अविजित रहदै सर्वाधिक ४० रनको योगदान दिए ।
सागर पुन ३५ बलमा ५ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । यस्तै चाडविक वाल्टनले १९ रन, कप्तान ट्रेभोन ग्रिफ्रिथले ९ रन, राजेश पुलामी ९ रन र शराफुद्धिन अशरफले ६ रन बनाए । पोखराका जाहिर खानले ३ तथा मौषम ढकाल र कप्तान शरद भेषवाकरले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रनको स्कोर खडा गरेको थियो । त्यसमा आसिफ शेखले ३९ बलमा ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रनको अर्धशतकीय ईनिङ खेले ।
सिद्धान्त लोहनीले २९ तथा अमिर हम्जाले १८ रन बनाए । प्रतिश जिसीले २८ रन बनाउँदा उसका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुरका लागि केसरिक विलियम्सले ३ दशमलव ४ ओभरमा १९ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए । पवन सर्राफ, स्राफुदिन असरर्फ र ललित राजवंशीले समान २/२ विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।
जितसँगै जनकपुरले पहिलो खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुई खेलमा पराजित अंक विहीन पोखरा पाँचौं स्थानमा रहेको छ । लुम्बिनी अल स्टार्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । युसैगरी लिगको प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ ले ४० हजार र इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।