काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईतबार लुम्बिनीले विराटनगर सुपर किङ्सलाई तीन रनले पराजित गरेको हो ।
लुम्बिनीले प्रस्तुत गरेको १५८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनायो । विराटनगरका हुसैन तलातले सर्वाधिक ३९ रन बनाए । रोहित कुमार पौडेलले २५, पृथु बास्कोटाले १८, विवेक यादवले १२, कप्तान एन्ड्रे म्याककार्थीले ११ र अर्जुन साउदले १० रन जोडे । लुम्बिनीका किशोर महतोले २ विकेट लिए । यस्तै, प्याट ब्रोन, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।
त्यसघि टस हारेपछि ब्याटिङमा निम्त्याईएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे । उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङमा अविजित रहे ।
कुशल भुर्तेलले २६, कप्तान दीपेन्द्रसिंह ऐरीले १६ र विपुल शर्माले ११ रन बनाए । अनिल शाह ६ रनमा आउट भए । विराटनगरका लागि नन्दन यादव, हुसैन तलात, साहब आलम, सिकन्दर राजा र एन्ड्रे म्याककार्थीले समान एक/एक विकेट लिएका थिए ।
दुई खेलबाट चार अंक जोडेको लुम्बिनी अल स्टार तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले शनिबार पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको थियो । विराटनगरको भने लिगमा पहिलो हारसँगै अंक बिहिन रहेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । युसैगरी लिगको प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ ले ४० हजार र इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।