काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टारले विजयी सुरुवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा लुम्बिनी अलस्टारले फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गरेको हो ।
१५३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको फार वेष्ट युनाइटेडले १६.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन मात्रै बनाएपछि लुम्बिनीले सहज जित निकालेको हो । फार वेस्टर्नको तर्फबाट हसमतउल्लाह साहिदीले सर्वाधिक ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन जोड्न सकेनन् ।
फार वेष्टलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले तीन र सागर ढकालले दुई विकेट लिए । त्यस्तै पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले समान एक/एक विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रनको योगफल तयार गरेको थियो । लुम्बिनीका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरेका थिए । उनले, ५० बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ रन, बनाउँदा विपुल शर्मा १२ रनमा आउट भए । गुलसन झाले ९ बलमा तीन छक्काको मद्दतमा २५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । फार वेस्टर्नका लागि करण केसी र उमार अलीले समान तीन/तीन विकेट लिए ।
शनिबार नै भएको उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो । डबल राउन्ड रोविन लिग पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।
प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । युसैगरी लिगको प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ ले ४० हजार र इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।