काठमाडौं । नेपालका आयुशमान हजुर घले २० औं जयकर स्मृति एटीएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट- १ को ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७-६(२) र ६-० को सेटमा पराजित गरे ।
ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले नेपालका दर्शिल श्रेष्ठलाई ६-४ र ६-३, यमनका हमुद इयादले भारतका आरभ धेकियललाई ६-४ र ६-१, हङकङका यु हिन वोङले भारतका किशोर श्रीरामलाई ६-४ र ६-३, भारतका सिद्धार्थ जिबुले हङकङका कि छियोङ मोरिस ताङलाई ७-६(४) र ६-१, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका आदित्य सिंहलाई ६-३ र ६-२, भारतका भिभान मिर्धाले श्रीलंकाका साहिल फज्लिनलाई ४-६, ६-४ र ६-१ तथा हङकङका छियुन हेइ काइसन फुङले नेपालका बोरिस अधिकारीलाई ६-२ र ६-४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
गर्ल्स सिंगल्समा नेपालका ४ खेलाडीले क्वाटरफाइनलमा स्थान बनाए । चारैले सोझो सेटमा जित हात पारे । प्रशंसा मोक्तानले बंगलादेशकी तयेबा खानोमलाई ६-४ र ६-०, शिभाली गुरुङले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६-२ र ६-३, आद्या पौडेलले बंगलादेशकी हुमिराह हैदरलाई ६-४ र ६-१ तथा स्वस्तिका विष्टले बंगलादेशकी जनातुन फर्डोस मितुलाई ६-० र ६-० को नतिजामा पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
सोही स्पर्धामा क्वाटरफाइनल प्रवेश गर्ने बाँकी खेलाडीमा भारतका रहे । प्रेरणा सन्ट्राले निभा श्रेष्ठलाई ६-१ र ६-०, तनिशा भत्नागरले कर्मिस्था नुगाह श्रेष्ठलाई ६-१ र ६-०, सान्भी रेडी भुन्द्यालाले समृद्धि महर्जनलाई ६-४, ६-७ (४) र ६-४ तथा हनी जुमानी गौरवले प्राज्ना मानन्धरलाई ६-१ र ६-१ को सेटमा पन्छाए । पराजित चारै खेलाडी नेपालका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स डबल्समा भारतका प्रेरणा सन्ट्रा र सान्भी रेडी भुन्द्यालाको जोडीले भारतकी मेगालइ प्रकाश र नेपालकी निभा श्रेष्ठको जोडीलाई ६-० र ६-० को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगे ।