काठमाडौं । वाई वाई यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुदूरपश्चिम प्रदेशले उपाधि जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै ससुदुरपश्चिम ६ खेलमा ६ खेल नै जितेर च्याम्पियन बनेको हो ।
जितका लागि लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाएर पूरा गर्याे । सुदूरपश्चिमको लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए ।
दीपक बोहोराले २५ रन बनाए भने अनुराग सिंहले २२ रन जोडे । मिलन बोहोराले ६ रन बनाएका थिए । लुम्बिनीका लागि रमेश कुर्मीले २ विकेट लिए भने निर्मल गुरुङ र अभिषेक गौतमले समान १/१ विकेट विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी २९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन जोडे ।
लज्जास्पद ब्याटिङ गर्नेक्रममा लुम्बिनीका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य चार खेलाडीले खाता खोल्न सकेनन् । सुदूरपश्चिमका लागि मिलन बोहोरा एक्लैले ५ विकेट लिए भने हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिए ।
सुदूरपश्चिमले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदला समेत लिएको छ । यू–१९ राष्ट्रिय टिम छनोटको रूपमा रहेको यो प्रतियोगितामा सात प्रदेशका टिमहरूको सहभागिता थियो ।
प्रतियोगिताको विजेता सुदूरपश्चिम प्रदेशले २ लाख नगद प्राप्त गर्दा उपविजेताले लुम्बिनीले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै प्लेयर अफ द सिरिज घोषित भएका सुदूरपश्चिम प्रदेशका अलराउन्डर मिलन बोहराले १५ हजार प्राप्त गरेका छन् ।
प्रदेश एकका दीपेश कंडेलले ६ खेलमा १६ विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट बलर चुनिएर १० हजार प्राप्त गरेका छन् । यस्तै बागमती प्रदेशका प्रतीक श्रेष्ठ ६ खेलमा १ शतकसहित २ सय ५१ रनका साथ शीर्ष स्थानमा रहेका श्रेष्ठले उत्कृष्ट ब्याट्सम्यान चुनिएर १० हजार प्राप्त गरेका छन् ।