काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङखलाको पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नामिबियाको युनाईटेड क्रिकेट क्लब मैदानमा आज हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हनुेछ ।
यस शृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपालले आयोजक नामिबिया र स्कटल्यान्डसँग समान दुई खेल खेल्नेछ । दोस्रो खेल नेपालले डिसेम्बर ४ मा स्कटल्यान्डसँग खेल्नेछ ।
नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ । रोहितको कप्तानीमा घरेलु मैदानमा नेपालले युनाईटेड अरब इमिरेट्स(यूएई) सँग तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जितेको थियो ।
पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो । जसमा एक खेल बाहेक सबैमा नेपालले हार बेहोर्यो । त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेलमा हार व्यहोरेको थियो । त्यसैले ओडीआईमा नेपाल नामिबियाविरुद्ध पहिलो जितको खोजीमा छ ।
लिग टुमा नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ । हालसम्म ३६ मध्य २० खेल खेलेको नेपालले ८ खेलमा मात्रै जित निकालेको छ । ११ खेल हारेको नेपालले १ बराबरीसहित १७ अंक जोडेर छैठौं स्थानमा रहेको छ ।
नेपालको टोली :
रोहित पौडेल(कप्तान), आसिफ शेख, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, सागर ढकाल, नन्दन यादव, गुलसन झा, हरिशंकर शाह र ललित राजवंशी