काठमाडौं । भारतीय कुङफु फेडरेसनको आयोजनामा भएको भारतको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरी १८ सदस्यीय नेपाली उमा कुङफुको निर्णायक टोली स्वदेश फर्किएको छ ।
नोभेम्बर १९ देखि २१ तारिखसम्म भारतको लखनउमा भएको प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धव थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गरेका थिए ।
रेफ्रीमा कमल मगर, श्याम डंगोल, सञ्जयराज पुटुवार, मओज विन्दुकार, निरञ्जन मोक्तान, मनीष पुटुवार, प्रसाङ तामाङ, सुनिता श्रेष्ठ, सरिना घले, सडन गुरुङ, सूर्य लामा, रवि महर्जन र सिवान सुनुवार रहेका छन् ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु नेपाली उमा कुङफुको निर्णायक टोलीले सञ्चालन गरेको नेपाल उमा कुङफु संघले जनाएको छ । नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले २ महिनापछि भारतको गोरखपुरमा इन्डो–नेपाल कुङफु च्याम्पियनसिप आयोजना गर्न नेपाल उमा कुङफु संघ र भारतीय कुङफु फेडरेसनबीच सहमति भएको जानकारी गराए ।
यस्तै, नेपालका उद्धव थापा मगरले उमा ब्रिटिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उद्धवले ४५ वर्षमाथि चाइनिज फम्स र वेपन फम्समा प्रतिस्पर्धा गर्ने छन् । नोभेम्बर २७ तारिखमा हुने प्रतियोगिताका लागि उद्धव इङल्यान्डको ओर्सेस्टर प्रस्थान गरिसकेका छन् ।
उनलाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, भारतीय कुङफु फेडरेसनका प्राविधिक निर्देशक ज्ञानप्रकाश त्रिपाठी र भारतका कुङफु खेलाडी आकाश आनन्दले एक कार्यक्रमबीच बिदाइ गरे ।