काठमाडौं । वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा बागमतीले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेको हो ।
वागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि अर्जुन कुमालले अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । अर्जुनले १ सय १९ बलमा ९ चौका र १ छक्काको सहयोगमा ९८ रनको पारी खेलेका थिए ।
सिब्रिन श्रेष्ठले २१ रन जोड्दा कप्तान सुवास भण्डारी, गोविन्द विक र करण पंगेनीले समान १३/१३ रनको योगदान गरेका थिए । अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
बलिङमा वागमती प्रदेशले ३६ रन अतिरिक्त खर्चिएको थियो । वागमतीका लागि अशोक पौडेलले ३ तथा ओमकार यादव, प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान २/२ विकेट विकेट लिए । अभिशेख कोईरालाको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बागमती प्रदेशले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो । वागमतीका लागि योगेश भाट र उत्तम मगरले अर्धशतकीय पारी खेले । उत्तमले ७० बलमा ८७ रन बनाउँदा १० चौका र ३ छक्का प्रहार गरेका थिए ।
योगेशले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाएका थिए । ओमकार यादवले ३७ रन जोड्दा अभिशेख कोईरालाले ३२ रनको योगदान गरेका थिए । अर्थव पौड्यालले २१ रन तथा सक्षम बस्ताकोटीले १८ रनको योगदान गरेका थिए । गण्डकीका लागि निर्तिस गिरी र सुदीप अर्यालले समान ३/३ विकेट लिएका थिए । सिब्रिन श्रेष्ठ, अर्जुन कुमाल र कप्तान सुवास भण्डारीले समान १/१ विकेट लिएका थिए ।
जितसँगै वागमतीले २ अंक जोडेको छ भने गण्डकीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,वागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
मंसिर १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछ । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।
प्रतियोगितामा बिहीवार दुई खेल हुनेछन् । टियु क्रिकेट मैदानमा कर्णालीले सुदूरपश्चिम प्रदेशको सामना गर्दा मूलपानी मैदानमा गण्डकी र प्रदेश नम्बर १ बीच खेल हुनेछ ।