काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधी विभागीय टोली नेपाल एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो उपाधि हो । उपाधिसँगै एपीएफले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले पाँच लाखमा चित्त बुझाएको छ । सेमिफाइनलबाट बाहिरिएका नेपाल पुलिस क्लब र मधेस प्रदेशले ५०/५० हजार प्राप्त गरे ।
विवादका कारण ढिलो गरी सुरु भएकाले ४० ओभरमा झारिएको खेलमा आर्मीले एपीएफलाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो । आर्मीले दिएको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले । ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाएका भुवन विजयी रन लिने क्रममा रनआउट भएका थिए ।
यस्तै सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, कप्तान शरद भेषवाकरले १६, आरिफ सेखले १४ रन र लोकेश बमले ८ रन बनाए । आर्मीका जितेन्द्र मुखियाले २, सोमपाल कामीले १, विक्रम शोवले १, शुषन भारीले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अल आउट हुदै १ सय ७९ रन बनाएको थियो । आर्मीका ब्याटर रोहित कुमार पौडेलले सर्वाधिक ४९, जितेन्द्र मुखियाले अविजित २४, सुशन भारी १९, राजेश पुलामी मगरले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउँदले १३, कप्तान विनोद भण्डारीले ११ रन बनाए ।
एपिएफका स्पिनर मौसम ढकाल र अमरसिंह रौटेलाले ३/३ विकेट लिए । किशोर महतोले २ विकेट हात पारे । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।