काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको रोमान्चक दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय ९ रन जोड्दै पूरा गर्यो । आर्मीको जितमा रोहितकुमार पौडेलले ८९ रन बनाए । उनले ८७ बलमा नौ चौका प्रहार गरे । हरि चौहानले ९२ बलमा आठ चौका र एक छक्कासहित ७५ रन बनाए ।
यस्तै, राजेश पुलामी मगर ४३ रनमा अविजित रहँदा कप्तान विनोद भन्डारीले ३२, विक्रम सोबले ३०, ओपनर अर्जुन साउदले ११ र भिम सार्कीले १० रन जोडे । पुलिसका करण केसीले ६ विकेट लिए पनि टिमलाई जित दिलाउँन सकेनन् । राशिद खान र ललित राजवंशीले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले कप्तान दीपेन्द्र सिंह ऐरीको शतकमा ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । पुलिसका दीपेन्द्रले १२५ बलमा ११ चौका र पाँच छक्कासहित १४० रन बनाएका थिए ।
आरिफ शेखले पनि १०९ बलमा आठ चौका र दुई छक्कासहित ९१ रनको अर्धशतकीय इनिङ खेले । यसबाहेक, ओपनर कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ र अमित श्रेष्ठले १० रन जोडे । आर्मीका विक्रम सोबले तीन विकेट विकेट लिँदा सुशन भारीले एक विकेट लिएका थिए ।
अब उपाधिका आर्मीले एपीएफ क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन् ।