काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ प्रदीप खड्का र प्रणव खनालले सेमिफाइनलमा स्थान बनाएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदीपले सौगात बिकेलाई ६-३ र ६-४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् । प्रणवले गौरव प्रताब सिंहलाई ६-० र ६-० ले हराएर सेमिफाइनलमा स्थान बनाएका हुन् ।
पुरुष एकलतर्फ नै निशन श्रेष्ठले निहल जंग बहादुर थापालाई ६-१, ४-६ र ६-३ ले हराएर अन्तिम चारमा स्थान बनाएका छन् । यस्तै ऋतिक रानाले प्रणव मानन्धरलाई ६-३ र ६-४ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।
महिला एकलतर्फ सुनीरा थापा, ईशा डोल्कर गुरुङ र शर्भानी श्रेष्ठले सेमिफाइनलमा स्थान बनाएकी छिन् । सुनीराले क्वाटरफाइनलमा ६-१ र ६-० ले हराउँदा ईशाले अद्या पौडेललाई ७-६ र ६-३ ले पराजित गरिन् । शर्भालीले भगवती बिकबाट वाक्ओभर पाईन् ।
पुरुषको ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार र कमल भण्डारीले फाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा जितेन्द्रले सिमान्त गुरुङलाई ६-३ र ६-१ ले पराजित गर्दा कमलले सन्तोष कार्कीलाई ६-४ र ६-४ ले पराजित गरे ।
पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ र विमल कुमार गुरुङले उपाधि भिडन्त पक्का गरेका छन् । महेशले रोहित सुनुवारलाई ६-३ र ६-४ ले हराउँदा विमलले मनोज बिक्रम शाहलाई ६-४ र ६-० ले पराजित गरे ।
पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तम कुमार लामा र विमल कुमार गुरुङले फाइनलमा स्थान बनाएका छन् । विमलले जीवन घिमिरेलाई ६-३ र ६-४ तथा उत्तमले निरन्जन कुमार श्रेष्ठलाई ६-३ र ६-४ ले हराए ।
पुरुषको ६५ वर्षमाथि एकलमा बिदुर विष्टले हर्क बहादुर गुरुङलाई ४-२ र ४-० ले हराएर फाइनलमा स्थान बनाए । ज्ञानेन्द्र मान ताम्राकारले भरत रायमाझीबाट वाक्ओभर पाएर फाइनलमा पुगे । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।