काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
मधेश प्रदेशले दिएको १ सय २३ रनको सामान्य विजयी लक्ष्य एपीएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितका लागि रोकेश बमले अविजित रहँदै सर्वाधिक ३५ रनको योगदान दिए ।
यस्तै प्रदिप ऐरीले ३३ रन जोड्दा आसिफ शेखले २५ रन बनाए । सुमित महर्जनले १३ रन जोड्दा सन्दीप जोरा ६ रनमा अविजित रहे । बलिङ्गतर्फ मधेश प्रदेशका लागि रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मधेश प्रदेश ३१ ओभरमा १२२ रनमा अल आउट भयो । मधेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रन जोडे । सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए । मोहम्मद आदिल आलमले ११, राजेश यादवले १० रन जोडे ।
एपीएफका लागि कमल ऐरिले ४ विकेट हात पार्दा भुवन कार्की र मौसम ढकालले समान २/२ विकेट लिए । यस्तै किशोर महतोको नाममा १ विकेट लिए ।
अब एपीएफले प्रतियोगिताको उपाधिका लागि दोश्रो सेमिफाइल खेलको विजेता टोलीसँग २६ गते शनिबार प्रतिस्पर्धा गर्नेछ । पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल २५ गते शुक्रबार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन् ।