काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मी समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । योसँगै प्रधानमन्त्री कपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
आर्मीले दिएको २ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले २८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय १४ रनमै समेटियो । कर्णालीका लागि ओपनर विपन रावलले सर्वाधिक ४८ रन बनाए । लगातार विकेट गुमाएको कर्णालीका लागि अर्जुन घर्तीले १७, प्रशाह जैसी र सन्दीप शाहीले ११/११ रन जोडे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णालीलाई सस्तैमा रोक्न आर्मीका रोहितकुमार पौडेलले ३ विकेट लिए । रोहितले ४ ओभर बलिङ गर्दै १५ रन खर्चिए । हरि चौहान र साहब आलमले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रनको योगफल खडा गरेको थियो । कप्तान विनोद भण्डारीले २८ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक अविजित ३७ रन बनाए । राजेश पुलामीमगर पनि २८ रनमा अविजित रहे ।
कुशल मल्ल र रोहित पौडेलले समान ३५/३५ रन जोडे । हरि चौहानले ३१, अर्जुन साउदले २०, अनिल मण्डलले १७ र भीम सार्कीले २९ रन बनाए । आर्मीले २२ अतिरिक्त रन पाएको थियो । बलिङमा कर्णालीका प्रकाश जैशीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले २ र दिनेश अधिकारीले १ विकेट लिए ।
आर्मी समूह ‘ए’ बाट उपविजेता बन्दा सशस्त्र प्रहरी बलको एपीएफ क्लब समूह विजेताको रुपमा सेमिफाइनल पुग्यो । एपीएफले चार खेलबाट सात अंक जोड्दा आर्मीले ६ अंक जोड्यो । पाँच अंकसहित गण्डकी प्रदेश तेस्रो स्थानमा, दुई अंकसहित सुदूरपश्चिम प्रदेश चौथो र अंकविहीन कर्णाली प्रदेश पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।
समूह ‘बी’बाट आठ अंकसहित नेपाल पुलिस क्लब विजेता र पाँच अंक जोडेको मधेस प्रदेश उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरे । यस्तै, चार अंकसहित तेस्रो स्थानको लुम्बिनी प्रदेश, दुई अंकसहित चौथो स्थानको प्रदेश–१ र एक अंक जोडेर पुछारमा रहेको वाग्मती प्रदेश समूह चरणबाटै बाहिरिए ।
फाइनल प्रवेशका लागि कात्तिक २४ गते बिहीबार एपीएफ र मधेशले र कात्तिक २५ गते पुलिस र आर्मीले कीर्तिपुरको टियु मैदानमा खेल्ने छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २६ गते शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन् ।