काठामाडाैं, १५ असार - नेपाल आर्मी र डब्लुएसएले एङगेज इम्पावरिङ ह्वीलचेयर बास्केटबल लिगको उपाधि शनिबार जितेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले जावलाखेललाई ३७–२७ ले पराजित गर्यो।
आर्मीको जितमा राजु कट्वालले २३ अंक योगदान गरे। महिलाको उपाधि भिडन्तमा डब्लुएसएले डब्लुडब्लुबीएलाई १८–११ ले हरायो। विजेताकी ज्योति अर्यालले ४ अंक जोडिन्।
पुरुष-महिला दुवैमा बीआईएले तेश्रो स्थानमा चित्त बुझायो। दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार हात पारे।
पुरुषमा जावलाखेलका प्रेम विक र महिलामा डब्लुएसएकी हेमकला सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । पुरुषमा आर्मीका राजु कट्वाल र महिलामा डब्लुएसएकी ज्योति अर्याल सर्वाधिक स्कोरकर्ता बने।
प्रतियोगिताभर राजुले १ सय ७२ र ज्योतिले ३१ स्कोर गरे। पुरुषमा एसआईआरसी र महिलामा एनएससीआईएसएले अनुशासित टिमको उपाधि हात पारे।
दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ ले ६ हजार, सर्वाधिक स्कोरकर्ताले ५ हजार र अनुशासित टिमको उपाधि हात पार्नेले १० हजारका दरले नगद पुरस्कार पाए।
जुन २ तारिखदेखि सुरु प्रतियोगिताको पुरुषमा ९ र महिलामा ५ टिमले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए। लिगको विजेता र उपविजेतालाई उपाधिका लागि पुनः खेलाइएको थियो।