काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बागमती प्रदेशसँगको खेल 'टाई' भएसँगै मधेश प्रदेश पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मधेसले ४६.२ ओभरमा सबै विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो । १९१ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको बागमतीले पनि ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन नै बनायो ।
बागमतीका पृथु बास्कोटाले सर्वाधिक ४० रन बनाए । ओपनरद्वय रित गौतमले ३२ र इशान पाण्डेले ३१ रन बनाउँदा सूर्य तामाङले २८ र विवेक मगरले २५ रन जोडे । मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३/३ विकेट लिए । रूपेश सिंहले दुई र कप्तान हरिशंकर साहले एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १९० रनको योगफल खडा गरेको थियो । मधेसबाट ६३ रन बनाएका रोहन विकले ९४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे ।
ओपनर सन्तोष कार्कीले २३, राजेश यादवले १६, कप्तान हरिशंकरले १३ रन जोडे । विशाल सुस्लिङले ११ तथा अनिल शाहले १० रन जोडे । बागमतीका नन्दन यादव र सूर्य तामाङले ३/३ विकेट लिए । रामनरेश गिरी र प्रतिश जिसीले समान दुई विकेट लिए ।
खेल 'टाइ' भएपछि मधेश र बागमतीले एक एक अंक बाडेका छन् । समूह ‘बी’ मा तीन खेलबाट पाँच अंक जोडेको मधेस तालिकाको दोस्रो स्थानमा छ । मधेशले अन्तिम खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । लुम्बिनी प्रदेश ४ अंक, प्रदेश एक २ अंक र बागमती १ अंक जोडेर बाहिरिएको छ ।