काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले सान्त्वना जित हात पारेको छ । समूह चरणको चौंथो तथा अन्तिम खेलमा सोमबार मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले पहिलो जित निकालेको हो ।
कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेटको क्षतिमा १५५ रन बनाउँदै पुरा गर्यो । सुदूरपश्चिको जितका लागि ज्ञानेन्द्र बोहराले सर्वाधिक ४१ रन जोड्दा सेर मल्ल ३४ तथा कप्तान राजु रिजाल २४ रनमा अविजित रहे । टेक रावलले १८ रन, विरेन्द्र नाथ र दिपक टमाटाले समान ९/९ रन बनाए ।
कर्णालीका लागि रविन्द्र शाहीले ३ तथा दिवन पुनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो ।
कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन । त्यसैगरी, सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए ।
बलिङतर्फ सुदुरपश्चिमका नारायण जोशीले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै, गजेन्द्र बोहोराले दुई विकेट लिदाँ मिलन बोहोराले एक विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेको समूह ‘ए’ को सुदुरपश्चिमले ४ खेलमा २ अंक जोडेको छ । सुदूरपश्चिमले पहिलो खेलमा गण्डकीले दिएको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा १३९ रनमात्र बनाएको थियो । दोस्रो खेलमा एपीएफसँग १० विकेटले पराजित भएको सुदूरपश्चिमले ६७ रनमै अल आउट भएको थियो । तेस्रो खेलमा आर्मीले दिएको २८३ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २९.९ ओभरम ११३ रन मात्र बनाएको थियो ।