काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार दाेस्राे जित निकालेकाे छ । शनिबार मुलपानी मैदानमा भएको समूह 'बी'को खेलमा मधेशले लुम्बिनीलाई ९२ रनले पराजित गरेको हो ।
मधेशले दिएको २६० को लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा अल आउट हुँदै १ सय ६७ रन मात्र बनाउन सक्यो । ओपनर ब्याटर आकाश त्रिपाठी र देव खनाल क्रमश ८ र ९ रनमा आउट भएपछि लय गुमाएको लुम्बिनीका लागि विशाल विक्रम केशीले सर्वाधिक ३४ रन बनाउँदा कृष्ण कार्कीले ३१ तथा सन्दीप रजालीले २३ रन बनाए ।
अनिल खरेलले २२ तथा बसिर अहमेद र मोहमद हुसेनले समान १५/१५ रन बनाए । मधेश प्रदेशका लागि प्रदीप पासवान र राजेश यादवले समान ३/३ विकेट लिए । यस्तै हरिशंकर शाहले २ विकेट हात पार्दा रुपेश सिंहले १ विकेट लिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.४ ओभरमा २५९ रनमा अल आउट भयो । मधेशका लागि हरिशंकर साह, सन्तोष कार्की र अनिल साहले अर्धशतकीय इनिङ खेले । कप्तान हरिशंकर शाहले ९० बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाए । ओपनर सन्तोष कार्कीले ६० बलमा ५ चौका र ३ छक्कासहित ५० रनमा आउट भए ।
विकेटकिपर अनिल साहले ४९ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा आउट भए । अनिलको यो लगातार दोस्रो अर्धशतक हो । अनिलले पहिलो खेलमा प्रदेश १ विरुद्ध ६१ रन बनाएका थिए । लुम्बिनीका लागि कृष्ण कार्कीले ३ विकेट हात पार्दा अनिल खरेलले २ विकेट लिए । यस्तै मोहम्मद हुसेन, देव खनाल र बसिर अहमदले समन १/१ किवेट लिए।
जितसँगै २ खेलबाट ४ अंक जोडेको मधेश समूह 'बी' को दोश्रो स्थानमा रहेको छ । ३ खेलमा १ जित तथा २ खेलमा पराजय भोगेको लुम्बिनी २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।