काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । शुक्रबार आर्मीले सुदूरपश्चिम प्रदेशमाथि १६९ रनको फराकिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा आर्मीले दिएको २८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.४ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनायो । सुदुरपश्चिमका लागि बसन्त खत्रीले २५ रन जोडे । नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए । बसन्त कार्कीले १४ र मिलन बोहराले १२ रन बनाए ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका लागि जितेन्द्र मुखियाले तीन विकेट लिए । बिक्रम सोब र साहब आलम दुई विकेट लिँदा सुशन भारी र सोनु तामाङले एक-एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे । त्यस्तै कुशल मल्लले ४३ रन जोड्दा भिम शर्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन र सोनु तामाङले १६ रन बनाए ।
सुदुरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २/२ विकेट लिए । शेर मल्ल र मिलन बोहराले एक-एक विकेट हात पारे । जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । आर्मीले अव आइतबार गण्डकीसँग मुलपानीमा खेल्नेछ । लगातार तेस्रो हार व्यहोरेको सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ । सुदुरपश्चिमले आफ्नो अन्तिम खेल सोमबार कर्णालीसँग मुलपानीमा खेल्नेछ ।
शुक्रबार नै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टीम एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ भएको छ । एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाएपछि एपीएफ र गण्डकीबीचको खेलमा रोमान्चक टाइ भएको हो । खेल टाइ भएसँगै एपीएफ र गण्डकीले अंक बाडेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो । एपीएफका लागि भुवन कार्कीले अविजित रहदै २४ रन बनाए । पुरण बिकले २३ रन जोडे । लोकेश बम र सन्दीप जोराले समान २२/२२ रन बनाए । कप्तान शरद भेषवाकर ३ रनमा आउट भए । एपीएफलाई सस्तैमा समेट्न गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले ३/३ विकेट लिएका थिए ।
गण्डकीका अविशेक बस्नेतले २४ रन बनाए । अर्जुन कुमालले १८ रन जोड्दा कप्तान विपिन खत्रीले १७ रन बनाए । कमल परियार ११ रनमा आउट भए । एपीएफका मौषम ढकाल र किशोर महतोले ४/४ विकेट लिएका थिए । यस टाइ खेलपछि समूह ए मा रहेको एपीएफले ३ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा छ । गण्डकी ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।