काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘बी’को खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिस क्लबले तेश्रो जित हात पारेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको पुलिसले उक्त लक्ष्य ३७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।
पुलिसका दीपेन्द्रले ६६ बलमा पाँच चौका प्रहार गरे । ओपनरद्वय सुनील धमला र कुशल भुर्तेलले क्रमशः ३६ र ३२ रन बनाए । आरिफ सेखले ३५ र अमित श्रेष्ठले २८ रन जोडे । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिँदा मोहम्मद हुसेन र दुर्गेश गुप्ताले एक/एक विकेट लिए ।
यसअघि, टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनाएको थियो । लुम्बिनीलाई कम योगफलमै रोक्न पुलिसका कप्तान ऐरीले चार विकेट लिए । १० ओभर बलिङ गरेका दीपेन्द्रले ५५ रन खर्चिए । करण केसी र सागर ढकालले समान दुई विकेट लिँदा गुल्सन झा र ललित राजवंशीले एक/एक विकेट लिए ।
लुम्बिनीका कप्तान देव खनालले ७४ रन बनाएका थिए । विशालविक्रम केसीले ३०, प्रज्ज्वल थापाले २३ सँगै दुर्गेश गुप्ता र मोहम्मद हुसेनले समान ११ रनको योगदान गरे ।जितसँगै पुलिसले ३ खेलमा ६ अंक जोडेको छ । लुम्बिनी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
बिहीबार सम्पन्न अर्को खेलमा मधेस प्रदेशले प्रदेश १ लाई ७२ रनले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४२ रन बनाउन सक्यो ।
प्रदेश १ कालागि लुभ कमातले सर्वाधिक २९ रनको पारी खेल्दा विवेक आनन्द मेहेताले २५, फिर्दोस अनसारीले २२, मनिस थापाले १२, सोनु मण्डलले ११, सोनु अनसारीले १० तथा दीपक जोशीले अविजित ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।
प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा मधेसका रुपेश सिंह, प्रदीप पासवान, विशाल सुस्लिङ, मोहम्मद आदिल अलामले समान २ विकेट लिए भने राजेश यादवले १ विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । मधेसका अनिल शाहले अर्धशतकीय पारी खेले । ८९ बलको सामना गरेका अनिलले पाँच चौका र १ छक्का प्रहार गरेका थिए ।
विवेक यादवले ३२ रन जोड्दा रुपेश सिंहले ३०, रोहन विकेले २८ र कप्तान हरिशंकर शाहले १५ रन जोडेका थिए । यस बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
मधेसको सबै विकेट लिने क्रममा प्रदेश १ का फिर्दोस अनसारीले सर्वाधिक ५ विकेट निकाले । ९ दशमलव १ ओभर गरेका फिर्दोसले १ मेडन ओभर राख्दै ३४ रन खर्चिएका थिए । यस्तै सिद्धान्त लोहनीले ३ विकेट हात पार्दा श्रवण यादव र लुभ कामतले समान १ विकेट लिए ।
प्रतियोतितामा शुक्रवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा हुने खेलमा कर्णाली र एपिएफ तथा मुलपानी मैदानमा लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछ ।