काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलेले लगातार दाेस्राे जित निकालेकाे छ । बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ३२ रनले हराउँदै गण्डकीले लगातार दोस्रो जित निकालेको हो ।
गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पच्छ्याएको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७६ रन बनाउन सक्यो । कर्णालीका लागि हिमान्सु शाहीले सर्वाधिक ६९ रन बनाए ।
ओपनर तथा कप्तान रविन्द्र शाहीले ४२ रन र प्रकाश जैसीले १५ बनाउनुबाहेक कर्णालीका अन्य सबै ब्याटरले दोहोरो कंकको रन जोड्न सकेनन् । बलिङतर्फ गण्डकीका लागि सुभास भण्डारी र चन्द्र पौडेलले सर्वाधिक ३-३ विकेट लिए । कप्तान विपिन खत्रीले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले । ४५ बल खेलेका अभिषेकले ८ चौका र १ छक्का प्रहार गरेका थिए ।
यस्तै, अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए । सुवास भण्डारी १४ रनमा आउट भए । कर्णालीका अनुज चुनाराले ४ विकेट लिए ।प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट निकाले । जितसँगै समूह ए को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ । गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ । कर्णालीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।
यस्तै, बुधवार नै मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा वागमती प्रदेश लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको छ । यससँगै वागमतीले लगातार तेस्रो हार भोगेको छ । वागमतीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य लुम्बिनीले ३५.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्याे । लुम्बिनीको जितमा कप्तान देव खनालले सर्वाधिक ७७ रन बनाए । प्रज्वल थापा र सन्दीप रजालीले समान २९ रन जोडे । वागमतीका रिजन ढकाल र प्रतिश जिसीले एक–एक विकेट लिए ।
यसअघि टस जितेपछि ब्याटिङमा आएको वाग्मतीले ३८.१ ओभरमा सबै विकेट गुमाएर १५४ रनको योगफल खडा गरेको थियो । वागमतीलाई सस्तैमा रोक्न लुम्बिनीका अनिल खरेलले चार विकेट लिए । १० ओभर बलिङ गरेका अनिलले तीन मेडन राख्दै ३० रन खर्चिए । विशाल विक्रम केसी र अभिषेक गौतमले समान दुई विकेट लिँदा कृष्ण कार्की र मोहम्मद हुसेनले एक–एक विकेट लिए ।
वागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाएका थिए । दुर्गेश थापाले ३२, ओपनर आशुतोष घिरैयाले २२, सुर्य तामाङले १७ र प्रतिश जिसीले १५ रन जोडेका थिए ।
जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा रहेको छ । वागमती ३ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ । पुलिस ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा प्रदेश १ दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेश र प्रदेश १ तथा कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिसबीच खेल हुनेछ ।