काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले कटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यही कात्तिक ३० गते दशरथ रंगाशालामा आयोजना हुने पाकिस्तानसँगको मैत्रिपूर्ण खेलका लागि कटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ । कटुवालले मछिन्द्र फुटबल क्लबलाई लगातार दुई पटक ए डिभिजन लिगको उपाधि जिताएका थिए ।
पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरेको थियो । तर, एन्फाले मंसिर ४ को निर्वाचनका कारण एक खेल मात्र खेल्न सक्ने जवाफ पाकिस्तानलाई पठाएपछि एक खेल मात्र हुने भएको हो ।
कटुवालले मंगलबार पहिलो चरणको प्रशिक्षणमा ३० खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल राष्ट्रिय टिममा नवयुग श्रेष्ठ, सुनिल बल, पुजन उपरकोटीले पनि मौका पाएका छन् । उनीहरूले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा मौका पाएका थिएनन् ।
पाकिस्तानविरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोली :
किरण चेम्जोङ (गोलरक्षक) विकेश कुथु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, सञ्जोग राई र निशान खड्का