काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् । आइतबार कीर्तिपुर मैदानमा समूह ‘ए’ को खेलमा त्रिभुवन आर्मी क्लबलाई एपिएफले ५६ रनले पराजित गरेको हो ।
एपीएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मीले ३२.१ ओभरमा सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । टस जितेर ब्याटिङमा आएको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर २१९ रनको योगफल खडा गरेको थियो ।
एपीएफका ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रन बनाएका थिए । सन्दीप जोराले ५० रन बनाउँदा भुवन कार्कीले २६, कप्तान सरद भेषवाकरले १६ र अमरसिंह रौटेलाले १० रन बनाए । आर्मीका विक्रम सोबले चार विकेट लिएका थिए । कुशल मल्ल र साहब आलमले समान दुई विकेट लिँदा जितेन्द्र मुखिया र सुसन भारीले १/१ विकेट लिए ।
आर्मीका हरि चौहान र रोहित पौडेलले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । हरिले ६५ रन बनाउँदा रोहितले ५१ रन जोडेका थिए । यसबाहेक आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीलाई सस्तैमा समेट्न एपीएफका अमर रौटेलाले चार विकेट लिए । कमलसिंह ऐरीले तीन विकेट लिँदा किशोर महतोले दुई विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ ।
यता, मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ को खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीको शतक प्रेरित पुलिसले बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले १०८ रनको शतकीय पारी खेले । ८२ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७–३७ रनको योगदान गरे । बागमतीका नन्दन यादवले दुई विकेट लिए । रामनरेश गिरी, सुर्य तामाङ र सोनु देबकोटाले १/१ विकेट लिए ।
पुलिसले दिएको २९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै मात्र ९७ रन बनायो । बागमतीका इशान पाण्डेले सर्वाधिक २४ रन बनाए । त्यस्तै रामनरेश गिरीले अविजित २२ बनाउँदा प्रतिस जिसीले १४ रन जोडे ।
पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै करण केसी, गुलसन झा र सागर ढकालले २/२ विकेट लिए । पुलिसका दीपेन्द्र प्लेयर अफ द म्याच घोषित भए । जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलमा २ अंक जोडेको छ ।