काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत कबड्डी प्रतियोगितामा महिला तथा पुरुष स्पर्धाको लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् । सोमबार पोखरामा भएको प्रतियोगितामा पुरुष तर्फ बाग्मती प्रदेश, त्रिभूवन आर्मी क्लव, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी विजयी भएका छन् ।
प्रतियोगिता अन्तरगत पहिलो खेलमा बाग्मती प्रदेशले सशस्त्र प्रहरी बललाई ३६–३१ पोइन्टले पराजित गर्यो । दोस्रो खेलमा नेपाल प्रहरी क्लव त्रिभूवन आर्मी क्लवसँग ७५–२२ पोइन्टको फराकिलो अन्तरले पराजित हुँदा तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेशलाई ५२– २५ पोइन्टले पराजित गर्दै विजयी भयो ।
चौथौं खेलमा सशस्त्र प्रहरी बललाई सुदुर पश्चिमले ४३ – २६ ले पराजित गर्यो, पाँचौ खेलमा नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ४४ – ३६ ले पाखा लगाउँदा अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्वर १ लाई ७५–३३ ले पराजित गर्दै विजयी भयो ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, त्रिभूवन आर्मी क्लव, नेपाल प्रहरी क्लव, बाग्मती प्रदेश र सशस्त्र प्रहरी बल विजयी भएका छन् । प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्वर १ लाई ४७– २४ ले पराजित गर्दा दोस्रो खेलमा बाग्मती प्रदेशलाई त्रिभूवन आर्मी क्लवले ७५–२० पोइन्टको फराकिलो अन्तरले पराजित गर्दा तेस्रो खेलमा कर्णाली प्रदेश नेपाल प्रहरीसँग ६५–२२ ले पराजित भयो ।
चौंथो खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ३४ – १७ ले पराजित हुँदा पाँचौं खेलमा बाग्मतीले मधेश प्रदेशलाई ३५–२० ले पाखा लगायो । अन्तिम खेलमा सशस्त्र प्रहरी बलले सुदुर पश्चिम प्रदेशलाई ४४–२१ पोइन्टले पन्छाउँदै जित दर्ता गरेको हो ।
प्रतियोगिता अन्तरगत मंगलबार महिला तथा पुरुष दुवैतर्फ ६–६ खेल सञ्चालन गरिने छ । जस अन्तरगत महिला तर्फ प्रदेश नम्वर १ र कर्णाली प्रदेश, त्रिभूवन आर्मी क्लव र सुदुरपश्चिम प्रदेश, नेपाल प्रहरी क्लव र लुम्बिनी प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल, प्रदेश नम्वर १ र गण्डकी प्रदेश यस्तै अन्तिम खेल बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशका विचमा सञ्चालन हुनेछ ।
यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र मधेश प्रदेश, त्रिभूवन आर्मी क्लव र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल, कर्णाली प्रदेश र प्रदेश नम्वर १, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश र अन्तिम खेलमा नेपाल प्रहरी क्लव र गण्डकी प्रदेश आम्ने साम्ने हुनेछन् ।
लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा समुह ‘क’मा त्रिभूवन आर्मी क्लव, कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् ।
महिलातर्फ समुह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’मा नेपाल प्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् । प्रतियोगिता पोखरा १२ माटोपानी स्थित एस आर के सी क्याटरीङमा जारी छ ।