काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखराकाे पाेखरा रंगशलामा नेपाली खेलकुदको कुम्भमेला नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रबार विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौँको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे । नेपाली खेलकुदको इतिहास बोकेको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी फेरि पाएको गण्डकी प्रदेश बासीलाई बधाई दिँदै यसअघिकै प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई बधाईसँगै अब प्रतिस्पर्धा गर्ने खेलाडीलाई पनि बधाई तथा सफलताको शुभकामना व्यक्त गरे ।
भव्य रूपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरेका थिए ।
खेलकुदमन्त्री गहतराजले नेपाली खेलकुदको इतिहास बोकेको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी फेरि पाएको गण्डकी प्रदेश बासीलाई बधाई दिँदै यसअघिकै प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई बधाईसँगै अब प्रतिस्पर्धा गर्ने खेलाडीलाई पनि बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । उनले खेलकुद विश्वमा ठुलो अर्थतन्त्रको रुपमा विकास भैरहेको उल्लेख गर्दै यसबाट आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।
उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायनलगायत आतिसबाजी गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलाडीका लागि राष्ट्रिय खेलकुदको पदकको महत्व फरक र विशिष्ट हुने बताएका छन् । सदस्यसचिव घिसिङले यही प्रतियोगिताबाट राष्ट्रिय टिमको निर्माण गरिने भएकाले उत्कृष्ट हुने खेलाडीलाई शुभकामना व्यक्त गरे । उनले नवौं राष्ट्रिय खेलकुदको दौरान रनिङ ट्रफी बनाउनेदेखि अनलाईनमार्फत खेलाडी दर्ता गरेर अभिलेखिकरणको काम सुरु गरिएको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताए । गण्डकी प्रदेशमा खेल पर्यटनका पर्याप्त सम्भावना रहेको उहाँले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अझै उजागर गर्ने बताए ।
कोभिड महामारीलगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो । यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौँको अधिकांश खेलहरू पोखरा रंगशालामा हुनेछन् ।
११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस पटक विभागीय टोली नेपाल पुलिस, एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदैछन् ।