काठमाडौं । गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र बागमती प्रदेशले बिजयी शुरुवात गरेका छन् । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।
एनआरएनएको जितमा संजोग राई र विमल घर्तीमगरले गोल गरे । संजोगले खेलको नवौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । समय घटाएर ७० मिनटमा झारेको प्रतियोगिताको दोश्रो गोल भने विमलले दोश्रो हाफको दशौं मिनेटमा गरेका थिए ।
पुरुष तर्फको दोश्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै महत्वपूणै ३ अंक जोडेको छ । बागमतीका सुनिल बलले दोश्रो हाफको चौथो मिनटमा र अन्जन बिष्टले १० औं मिनटमा गोल गर्दै टिमका लागि महत्वपूर्ण अंक जोडे ।
स्याङजाको वालिङमा बिहीबार सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रेखा पौडेलको ह्याट्रिक प्रेरित पुलिसले बागमती प्रदेशमाथि ५–० को जित हासिल गर्यो । टोलीका लागि निरु थापाले दुई गोल गरिन । १७ औं मिनेटमा निरुले गोल गर्दै दिलाएको अग्रतालाई रेखाले १८औं मिनेटमा दोब्बर पारिन । त्यसको तीन मिनेटपछि दोस्रो व्यक्तिगत गोल गरेकी रेखाले २३औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन । निरुले दोस्रो व्यक्तिगत गोल मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गरेकी थिइन । जितपछि पुलिसले समूह ‘ए’मा अंकको खाता खोलेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ । स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो । आर्मीले खेलको ९ औ मिनेटमा इन्दिरा राईको गोलबाट अग्रता लिएको थियो ।
पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा पुनः गोल गर्दै इन्दिराले अग्रता दोब्बर पारिन् । पहिलो हाफमा दुई गोलले अगाडि रहेको आर्मीलाई खेलको ५२ औ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ३–० को स्थितिमा पुर्याइन् ।
खेलको ५५ औ मिनेटमा चन्द्रा भण्डारीको पासमा कुस्मा खतिवडाले गोल गरिन् । चौथो गोल गरेको दुई मिनेटमै अमिसा कार्कीले मैदानको मध्य भागबाट एक्लै गोलकिपरलाई विट गर्दै गोल गरिन् । कार्की खेलको ४६ औ मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन् ।
इन्दिरा राईको ठाउँमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी हिमा चौधरीले उत्तरार्धको इन्जुरी टाईमको एक मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् । मधेश प्रदेशले भने पाएका अवसर खेर फाल्यो । बिहिबारबाट स्याङजा वालिङ स्थित मालेबगर खेल मैदानमा सुरु भएको महिला फुटबलमा सात प्रदेश र तीन बिभागिय टोलीको सहभागीता रहेको छ ।