काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले प्रदेश १ लाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिस क्लवले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५८ रन बनाएको थियो । पुलिसकी प्लेयर अफ दि म्याच सम्झना खड्काले अर्धसतक बनाइन् ।
उनले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ६० रन बनाइन् । त्यस्तै कविता कुँवरले ३७ रन बनाउँदा काजोल श्रेष्ठले ६ रन बनाइन् । पुलिसकी कप्तान रुविना क्षेत्री तथा अप्सरी बेगम क्रमस १६ र २१ रनमा अविजित रहे । प्रदेश एकका लागि निशा शाहले एक विकेट लिइन् ।
यसै गरि लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि १०४ रन अन्तरको विशाल जित निकालेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको लुम्विनीले निर्धारित ओभरमा छ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै सरस्वती घर्तीमगरले २० तथा सुस्मिता बजगाई र आष्मा पुलामी मगरले समान १२ रनको योगदान गरे ।
कर्णालीका लागि अन्जु गुरुङले दुई तथा एन्जिला क्षेत्रीले एक विकेट लिइन् । १२९ रनको लक्ष्य पछ्याएको कर्णाली ८.३ ओभरमा सबै विकेट गुमाउँदै २३ रनमा समेटियो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
कर्णालीका किरण कुवँरले ५, बिना थापाले ४, यमुना थारु र नितिका धमलाले समान दुई दुई रन, अन्जु गुरुङले एक तथा बाँकी खेलाडीले खाता नै खोल्न सकेनन् । लुम्बिनीका लागि मधु डिसीले चार, क्रितिका मरासिनीले दुई तथा सुस्मिता भुसालले एक विकेट लिइन् ।
खेलको प्लेयर अफ दि म्याच लुम्बिनीकी मधु डिसी चुनिइन् । यसअघि लुम्बिनी र प्रदेश एकबिचको खेल वर्षाका कारण रद्द भएको थियो । जितसँगै तीन अंक जोडेको लुम्बिनी समूह ‘बी’को दोस्रो स्थानमा छ । दुई खेलबाट चार अंक जोडेको नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ ।